नेचुरल साकोस १४ वर्षमा प्रवेश, स्तरिय र विश्वसनीय सेवा प्रवाहमा प्रतिवद्ध
गोकर्णेश्वर–६, जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था आज (बैशाख २४) बाट स्थापनाको १४ औं वर्षमा प्रवेश गरेको छ ।
सदस्यहरु बीचमा वित्तीय कारोबारसँगै सामाजिक क्षेत्रमा क्रियाशिल नेचुरल साकोस सहकारीहरुको भीडमा आफुलाई भिन्न पहिचान बनाउन सफल भएको छ । संस्थामा आवद्ध सदस्यहरुलाई सहज, सरल, छिटो वित्तीय सेवा प्रवाह गर्न संस्था हरदम तयार रहेको संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठक बताउनुहुन्छ । ‘सदस्यहरुको आर्थिक, सामाजिक एवं साँस्कृतिक आवश्यकता परिपूर्तिमा संस्था हरदम क्रियाशिल छ’, पाठकले भन्नुभयो । सदस्यहरु बीचको सहकार्य, सामूहिक निर्णय, अन्तरसहकारी सम्बन्ध र समुदाय केन्द्रित गतिविधि नेचुरल साकोसका मूलभुत पक्ष रहेको पाठकको भनाई छ ।
सदस्यहरुको माग एवम् चाहना बमोजिम वित्तीय तथा सामाजिक क्षेत्रमा अझ सदस्य केन्द्रित गतिविधिमार्फत् संस्थाको समग्र कारोबार वृद्धि गर्दै उत्कृष्ठ सहकारी संस्थाको पहिचान बनाउन नेचुरल टिम लागिरहेको उहाँको भनाई छ ।
विगतका केही वर्षदेखि प्रविधिमार्फत हुने कारोबारलाई संस्थाले जोड दिँदै आएको । नेचुरल साकोसको मोबाईल बैंकिङबाट मोबाईल रिचार्जदेखि बैंक रकम ट्रान्फरसम्मको सेवा सदस्यको रोजाईमा परेको छ । करिब ३ हजार सदस्यले मोबाईल बैंकिङ सेवा सुचारु गरेको पाठक बताउनुहुन्छ । यो सेवा नलिएका सदस्यले घरबाटै सेवा सुचारु गर्न सकिने पाठकको भनाई छ ।
संस्थाले ६४ औं राष्ट्रिय सहकारी दिवस (चैत्र २०) देखि ई–टेलर, ई–पेमेन्ट र फोन–पे सञ्चालनमा ल्याएको थियो । ई–टेलर बैंकिङ सेवा लिनका लागि संस्थाको क्यास काउण्टरमा राखिएको क्यूआर कोड स्क्यान गरी रकम झिक्नका लागि अनुरोध गर्न सक्छन् । सदस्यले ई–पेमेन्टमार्फत घरमै बसेर रकम ट्रान्सफर गर्न सक्छन् । पिन कोड कै आधारमा सदस्यले भुक्तानी दिन चाहेको व्यक्ति संस्थाको काउण्टरमा गई रकम भुक्तानी लिन समेत सक्छन् । त्यसैगरी फोन–पे ई–टेलर सुविधामार्फत सदस्यहरुले कुनै पनि बैंक तथा वित्तीय संस्थामा भएको पैसा नेचुरल सहकारीमार्फत झिक्न सक्नेछन् । यो सुविधा गैर सदस्यहरुलाई पनि उपलब्ध रहेको गराएको संस्थाले जनाएको छ ।
संस्थाले नयाँ प्रविधिहरुलाई आत्मसात गर्दै अगाडि बढेको र कोभिड १९ पछि थप नयाँ नयाँ प्रविधिको प्रयोगले झनै तीब्रता पाएको छ । हाल संस्थाले मिस्डकल बैंकिङ, क्युआर भुक्तानी, एटिएम सेवा, अन्तर बैंक रकम ट्रान्सफर, वालेटमा ब्यालेन्स लोड लगायतको सेवा प्रवाह गर्दै आएको छ ।
नेचुरल स्मार्ट एप र ई–बैंकिङमार्फत सदस्यहरु घरमै बसेर आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर, ब्यालेन्स जानकारी, स्टेटमेन्ट हेर्न, अन्तर बैंक रकम ट्रान्सफर, वालेट लोड, लोनको जानकारी हेर्न, फोन, इन्टरनेट, टिभि, रिचार्ज गर्न सक्छन् । त्यस्तै विजुलीको विल तिर्न, खानेपानी बिल तिर्न, हवाई टिकट काट्न, क्यु आर भुक्तानी, १४ वटा बिमाको प्रिमियम तिर्न, स्कूल बिल तिर्न पनि घरबाटै सक्छन् ।
संस्थामा ८ हजार सदस्य आवद्ध भएका छन् । संस्थाको सेयर पूँजी कबिर १३ करोड रुपैयाँ पुगेको छ । संस्थाले मुख्यकार्यालय जोरपाटी, सदस्य सेवा केन्द्र साँखु, सदस्य सेवा केन्द नयाँबजार, सदस्य सेवा केन्द कालिमाटी र सदस्य सम्पर्क कार्यालय काँडाँघारीबाट सेवा प्रवाह गर्दै आएको छ । संस्थाबाट करिब १ सय जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् ।